काठमाडौं। नेपाली गीत–संगीतका विशिष्ट दस्तावेज नातिकाजीको ९६ औं जन्मजयन्ती मनाउने कार्य भएको छ। नेपाली सांगीतिक आकाशमा गीत गायन तथा संगीतको माध्यमवाट अतुलनीय योगदान दिने स्वर्गवासी संगीतकार नातिकाजीको ९६ औं जन्मजयन्ती मनाउने कार्य भएको हो।

नातिकाजीको निवास कुटुवहाल चावहिलमा आयोजित कार्यक्रममा नेपाली सांगीतिक आकाशका मेलोडी किङ बरिष्ठ संगीतकार शंभुजीत बांस्कोटाको अग्रतामा श्रद्धासुमन सहित नातिकाजीको विशिष्ट योगदानको संस्मरण गर्ने कार्य भएको छ। सोही अवसरमा नेपाली सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान दिने श्रष्ट्राहरुलाई २०७६ सालको नातिकाजी विशिष्ट सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। बरिष्ठ गायक योगेश बैद्यको संयोजकत्वमा गठित तीन सदस्यीय सम्मान एवं पुरस्कार छनोट समितिको सिफारिसअनुसार सम्मान एवं पुरस्कार घोषणा गरिएको नातिकाजी स्मृति समाजका अध्यक्ष शंभुजीत बाँस्कोटाले वताएका छन्।

समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाका अनुसार, २०७६ सालको नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान बरिष्ठ सङ्गीतकार नोर्बु छिरिङ लामालाई प्रदान गरिने भएको छ। यस्तै, बालकृष्ण सजिव, सुरेन्द्र राना, राजु अग्रवाल, सुनिल मास्के, राजु सिंह, मदन सिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, चुडामणि देवकोटा र महेश खड्कालाई नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान–२०७६ प्रदान गरिने भएको छ ।

यस्तै, पुरस्कारतर्फ प्राश्ना शाक्य, चेतन सापकोटा, सुगम पोखरेल र दयाराम पाण्डेलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।यसैगरी, मेलिना राई, वसन्त सापकोटा, सुरज थापा र हर्क साउदलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७६ प्रदान गरिने जनाइएको छ । जीवीत जल्मीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार–२०७६ प्रदान गरिने भएको छ। विकास नाथ योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७६, बद्री पंगेनीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार–२०७६ प्रदान गरिने भएको छ।

दुई पत्रकार विदुर गिरी एवं श्याम स्मृतलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने जनाइएको छ। पत्रकार विदुर गिरी कामना मासिकका सम्पादक तथा नेपाल समाचारपत्रका समाचार सम्पादक हुनभने, श्याम स्मृत नामी साप्ताहिकका सम्पादक तथा भिजन संसार डटकमका समाचार सम्पादक हुन्।

कार्यक्रममा समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाले नेपाली सङ्गीतको इतिहास खोज्ने हो भने नातिकाजीको अध्ययनबाट मात्र पूरा हुने बताएका छन्। सङ्गीतकार शान्तिराम राईले नेपाली मौलिक सङ्गीतको राजमार्ग निर्माणमा नातिकाजीको प्रमुख भूमिका रहेको चर्चा गर्दै नेपाली सङ्गीतका हरेक पारखीले यो सत्यलाई अनुशरण गर्नुपर्ने आग्रह गरेका छन्।

गायक सुगम पोखरेलले नेपाली सङ्गीतको सागरका रुपमा नातिकाजीको योगदान रहेको चर्चा गरेका छन्।। गायक बद्री पंगेनीले लोक सङ्गीतको धरातलमा नातिकाजीले आफ्ना हरेक सङ्गीत सिर्जना बताए। समाजका सचिव दीपक श्रेष्ठले स्वागत गरेको कार्यक्रममा गीतकार भूपेन्द्र खड्काले नेपाली मौलिक सङ्गीतको विकास र विस्तारमा नातिकाजीको योगदानको चर्चा गर्दै नेपाली सङ्गीतको आकाशका रुपमा योगदान रहेको भनेका छन्।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रम यही पुस महिनाको अन्तिम हप्ता या माघको पहिलो हप्तातिर हुने समाजका अध्यक्ष शंभुजीत बाँस्कोटाले भिजन संसार डटकमलाई वताएका छन्।


प्रकाशन मिति–२०७७ साल पुस ३ गते शुक्रवार ।