काठमाडौं। नेपालका ख्यातिप्राप्त लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। कलाकार लामाको बुधवार बिहान आफ्नै घर अगाडि निधन भएको हो।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका ६६ वर्षीय कलाकार लामाको बिहान निधन भएको अनुमान गरिएको छ।

बिहान करिब ३ बजेतिर कलाकार लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको प्रहरी अनुसन्धानवाट खुलासा भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीको भनाई छ।

बा३च ७७४१ नंको कार कलाकार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ। शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए ।

‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे-टेबुलमा ऐना छ-पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी प-यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।

विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।

विभिन्न विद्यालयमा उनी सङ्गीत गुरुका रूपमा क्रियाशिल थिए। स्वर्गवासी कलाकार लामाका श्रीमती र दुई छोरा छन् । लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिता क्षेत्रमा क्रियाशिल थिए।

प्रकाशन मिति–२०७८ साल फागुन ११ गते बुधवार ।