काठमाडौ। कालो हरिणको मारेको अभियोगमा पाँच वर्षको जेल सजाय पाएका ख्यातिप्राप्त बलिउड अभिनेता सलमान खान शनिबार धरौटीमा जेलबाट रिहा भएका छन्। ५० हजार भारतीय रुपैयाँ धरौटी तिरेर सलमान जेलबाट रिहा भएका हुन्।

जेलबाट रिहा भएसँगै सलमान विशेष विमानबाट मुम्बई पुगेका छन्। सलमान दुई दिनदेखि जोधपुरस्थित सेन्ट्रल जेलमा थिए।सन् १९९८ मा राजस्थानमा ‘हम साथ साथ हे’ फिल्म सुटिङकाक्रममा जोधपुरमा सलमानको टोलीले संरक्षित जनावर कालो हरिण मारेको अभियोग लगाइएको थियो। सलमानले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

सोही फिल्मको छायांकनका क्रममा सलमानसँगै रहेका अभिनेता सैफअली खान, अभिनेत्रीहरु सोनाली बेन्द्रे, तब्बु र नीलमविरुद्ध पनि मुद्दा लगाइएपनि उनीहरुलाई निर्दोष ठहर गरिएको छ।

सलमान भने त्यस मुद्दामा दोषी देखिएपछि जेल चलान गरेको थियो। जेलवाट मुक्त भएपछि सलमानका करोडौ फ्यानहरुले खुशी मनाएका छन्। कतिपय स्थानमा दीपावली समेत गरिएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल चैत्र २४ गते शनिवार ।