काठमाडौं। पाँच मिनेटको गीतको भिडियोमा पूरै चलचित्रको स्वाद पाउन सकिन्छ। त्यो स्वाद चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारीको अभिनय तथा निर्देशन रहेको त्यो तिम्रो चोखो प्रेमको नजर बोलको गीतको भिडियोमा पाइएको छ।

कोरोनाको कारण लामो समयदेखि नेपाली चलचित्र उद्योगले लकडाउनको समस्या भोगिरहेको यथास्थितिमा फिल्म हलमा गएर चलचित्र हेर्न जान नमिलेको वर्तमान अवस्थामा आकाश अधिकारीको बेग्लै मेहनतको प्रतिकको भिडियोको रुपमा लिइएको छ। द स्काई मुभिज् र उमा फिल्मसको संयुक्त निर्माण रहेको यस गीतको भिडियोमा आकाश अधिकारी नेपाली सेनाका अधिकृत जर्नलको रोलमा अभिनय गरेका छन्। जसले दुश्मनहरुसंगको बीरतापूर्वक भिडन्तमा बीरगति प्राप्त गरेको हुन्छ।

सोही बीरगति पाएको स्थानमा आकाशको प्रेमिकाको भूमिकामा रहेकी अभिनेत्री उमा गिरी बेबीले खोजेको आफ्नो माया तथा मायाको आभासलाई जीवन्त रुपमा छायाँकार पुरुषोतम प्रधानले खिचेको पाइएको छ। नेपालको मनोरम रारा ताल आसपासमा खिचिएको गीतको भिडियोमा सुमधुर स्वरका धनीद्धय गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वर रहेको गीतको शब्द रचना जीत बहादुर घले (जेबी संयोगी)ले गरेका हुन् । गीतलाई कमल राईले कोरियोग्राफी गरेका छन्।

पुरुषोत्तम प्रधानले खिचेको गीतलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गीतमा आकाश र उमाको अलवा शिव भट्ट, दिप्त प्रकाश अधिकारी, ईशान विजु श्रेष्ठ, पृथ्वीलाल नेपाली, डिल्ली रावत र बाल कलाकार सुरज भामको अभिनय रहेको छ । गीतलाई बाबुल गिरीले संगीतवद्ध गरेका छन्।

प्रकाशन मिति–२०७८ साल बैशाख १० गते शुक्रवार ।