काठमाडौं। लामो समय क्यान्सरजस्तो डरलाग्दो रोगसंग लडेर रोगमुक्त बनेकी बलिउडकी ख्यातिप्राप्त नेपाली अभिनेत्री मनिषा कोइराला अव लेखक पनि बनेकी छन्। अभिनेत्री कोइरालाव्दारा लिखित आत्मकथा हिल्ड प्रकाशनमा आउने भएपछि उनी लेखकको क्याटागोरीमा परेको हो।

पछिल्लो समय ख्यातिप्राप्त बलिउड अभिनेता संजय दत्तको बायोपिक फिल्म संजुमा संजय दत्तको आमा नरगीसको भूमिकामा देखिएकी हुन्। नेपाली, हिन्दी, तमिल चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेकी मनिषा कोइरालाले पुस्तक ‘हिल्ड’ कृतिमा आफूलाई क्यान्सर रोग लागेपछिका दिनहरूको बारेमा विस्तृतमा उल्लेख गरेको खुलासा गरेकी छन्।

मनिषालाई सन् २०१२ मा क्यान्सर देखिएपछि लामो समय अमेरिकामा उपचार गरेर फर्किएकी थिइन्। उनले क्यान्सर रोगबाट गुज्रिरहँदा र मुक्ति पाइसकेपछिको अनुभवलाई विस्तृत रुपमा पुस्तकमा समेटेकी छिन्। जीवन विभिन्न उतारचढावहरूको एक संगालो भएको र तिनै उतारचढावहरू मध्येको एक पाटो आफूले यस कृतिमा समावेश गरेर पाठकमाझ ल्याउन पाउँदा आफूलाई खुशी लागेको उनले पत्रकार सम्मेलनमा भनेकी छन्।

भारतमा पेन्गुइन इण्डियाले प्रकाशन गरेको उक्त पुस्तक उनले लेखक नीलम कुमारसँग संयुक्त रुपमा लेखेकी हुन्। नेपालका लागि पुस्तक फाइनप्रिन्टले पुषको दोश्रो हप्ता बजारमा ल्याउन लागेको हो।


प्रकाशन मिति–२०७५ साल पुष ३ गते मंगलवार ।