काठमाडौं। भारतको लोकसभाको निर्वाचनले बलिउडका कलाकारलाई पनि मज्जाले छोएको छ। भारतमा बलिउड लोकसभामय भएको छ। अप्रिल ११ बाट सुरु हुने लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ बलिउड कलाकारहरु विभिन्न राजनीतिक दल प्रवेश गर्ने क्रम जारी रहेको छ।

मंगलबार जया प्रदा भारतीय जनता पार्टी प्रवेश गरिन् भने शत्रुघन सिन्हा भाजपा छोडेर भारतीय काँग्रसमा प्रवेश गर्ने गजबको हल्ला चलेको छ। रंगिला गर्ल भनेर चिनिएकी ख्यातिप्राप्त बलिउड अभिनेत्री उर्मिला मतोंडकरले पनि काँग्रेस प्रवेश गर्ने तयारीमा रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। काँग्रेसबाट उनले उत्तम मुम्बई लोकसभा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ। भाजपाबाट उक्त क्षेत्रमा गोपाल सेट्टीले उम्मेदवारी दिने बताइएको छ।

मुम्बई काँग्रेसका अध्यक्ष संजय निरुपमले उर्मिलासँग यस विषय छलफल भइरहेको पुष्टि गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। निरुपमले उर्मिलाले काँग्रेसको प्रस्ताव स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन्। काँग्रेसले सेट्टीलाई टक्कर दिन धेरै दिनदेखि हाई प्रोफाइल व्यक्ति खोजिरहेको बताइएको छ। उक्त क्षेत्रबाट पार्टीकै दिग्गज नेताहरुलाई उठ्न प्रस्ताव गरिएकोमा उनीहरुले त्यसलाई स्वीकार नगरेको बताइएको छ।

सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा सो क्षेत्रबाट सेट्टीले निरुपमलाई पराजित गरेका थिए। २००४ मा भएको निर्वाचनमा उक्त क्षेत्रबाट अभिनेता गोविन्द विजयी भएका थिए।
प्रकाशन मिति–२०७५ साल चैत्र १३ गते बुधवार ।