काठमाडौं। बलिउडका कलाकारहरुलाई भारतको लोकसभाको चुनावले छोइरहेको बेलामा ख्यातिप्राप्त अभिनेता सन्जय दत्तले भने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। भारतीय सञ्चारमाध्यममा कांग्रेसबाट उम्मेदवार हुन लागेको खबर आएपछि अभिनेता सन्जय दत्तले ट्वीटरमार्फत आफू कुनै पनि सीटमा चुनाव लड्ने योजना नरहेको स्पष्ट पारेका हुन्।

सन्जय दत्तले बरु आफ्नी बहिनी प्रियालाई मतदान गर्न अपील गरेका छन्। सन्जय दत्तको परिवार राजनीतिमा सक्रिय छ। उनका पिता ख्यातिप्राप्त अभिनेता सुनील दत्त (सन् २००४–२००५) खेलकुद मन्त्री भएका थिए। बहिनी प्रिया पनि सांसद बनिसकेकी छन्।

केही दिनअघि सन्जय दत्त उत्तर प्रदेशको गाजियावाद जिल्लाबाट चुनाव लड्ने तयारीमा रहेको खबर भारतीय समाचार माध्यममा आएको थियो। सन्जय दत्त हाल आफ्नो आगामी फिल्म कलंकको प्रमोशनमा व्यस्त छन्। फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ। उनी फिल्म तोरबाज, प्रस्थानम र पानीपतमा पनि देखिने छन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल चैत्र १४ गते विहीवार ।