काठमाडौं। नेपाली चलचित्रका महानायक राजेश हमालका वारेमा एक टेलिभिजन कार्यक्रमका टक–शोमा अभिव्यक्ति दिएकै कारण व्यापक विवादमा फसेकी हांस्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला उपर राजेश हमालका सारा फ्यानहरु उर्लेर तल्लो श्रेणीको गालीगलौज गरेपछि महानायक हमालले सवैलाई माफी दिन आग्रह गरेका छन्।

दीपाश्री निरौलालाई त्यसरी गालीगलौज नगरिकन संयमता अपनाउन अनुरोध गर्ने कार्य पनि महानायक राजेश हमालवाट भएको छ। महानायक राजेश हमालका विषयमा आफूले वोल्दा मर्यादाको ख्याल गर्नुपर्ने तथा शव्द चयनमा पनि ख्याल गर्न नसक्दा व्यापक विवादमा फसेपछि केही दिनयता अभिनेत्री दीपाश्री निरौला डिप्रेसनमा समेत पुगेपछि महानायक हमालले सवैलाई त्यस्तो गालीगलौज नगर्न सवैलाई आग्रह गरेका हुन।

मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।’

हमालले, एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि दर्शकसँग अपिल गरेका छन् । हमालले भने–‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

नायक हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दुख पनि व्यक्त गरेका छन् । हमालले भनेका छन्–‘मलाई लक्षित गरेर कसैले आफ्नो भनाई राख्नुभयो। भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् । तर, अर्को तहबाट हेर्दा, हामीले हेर्यौ भने के एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासी झट्ट प्रतिक्रिया दिदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि होला र ?’

नायक हमालले व्यक्तिगत हिसाबले आफू सहिष्णुता भएको र जनताको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन् । हमालले भने–‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ।’

नायक हमालले कला क्षेत्र दर्शकको पनि भएको भन्दै आफूहरु मैदानमा उत्रिएको सुनाए । भने–‘यो कला क्षेत्र हामी केहीको मात्र होइन, दर्शकको पनि हो । मैदानमा हामी उत्रन्छौ, हामी मिहिनेत गर्छौ । तर, यसको पछाडि उर्जा दर्शकबाटै प्राप्त हुन्छ। तपार्इहरुको भूमिका हाम्रो कला र सिर्जनामा अत्यन्तै ठूलो छ।’


प्रकाशन मिति–२०७७ साल साउन १ गते विहीवार ।