काठमाडौं। रंगमय रंगीन पर्वको रुपमा मानिएको होली पर्व काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज मनाउने कार्य भैरहेको छ। होली अर्थात फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ।

होली पर्वका अवसरमा आज साँझ काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगी जलाई होलीको दहन गरिएपछि होली पर्व समाप्त भएको मानिन्छ।

यद्यपि कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै  सामुहिक रुपमा होली खेल्न प्रतिबन्ध लगाउँदै घरमै बसी यो पर्व मनाउन सरकारले आग्रह गरेको छ।


प्रकाशन मिति–२०७७ साल चैत्र १५ गते आइतवार ।