काठमाडौं। नेपाली चलचित्रमा पर्दा पछाडि बसेर तहल्का मच्चाउने पर्दा पछाडिका कलाकारको खासै चर्चा भएको पाइदैन। पर्दा अगाडिका हिरो–हिरोइनलाई साहसी बनाउने पर्दा पछाडिका कलाकारमा सुशील शाहीको नाम अग्रपंक्तीमा रहेको छ।

सुशील शाहीले नेपाली चलचित्रका एक से एक हिरो तथा हिरोइनलाई साहसिक बनाएका छन्। जिन्दगीमा कही–कतै हाम फाल्न नजानेका र पानी डुब्न नजानेका हिरो–हिरोइनलाई गजबले हाम फाल्यो र पानीभित्र पुगेर अनौठै तरीकाले फाइट खेल्यो भनेर हाई–हाई दिने कार्य सुशील शाहीले कयन नेपाली चलचित्रवाट दिएका छन्।

नेपाली चलचित्र दिदीमा नायक सरोज खनाललाई हिरो बनाउने सुशील शाही नै हुन्। सुशील शाहीले पुष महिनाको ठण्डीमा राति २ बजे काठमाडौं म्हेपीको सडकमा सरोज खनालको डुप्लिकेट बनेर भयानक फाइट खेलेका थिए। चलचित्र दिदी हेर्नेहरुले सरोज खनालले गजबले फाइट खेल्यो भनेर सरोज खनालको व्यापक तारिफ गरेको पाइयो। तर, त्यो गजबको फाइट खेल्ने सरोज खनाल होइन भन्ने कुरा कसैलाई थाहा नै भएन।

त्यो फाइट गर्दा कति धेरै स्थानमा ज्यानले दुःख पायो भन्ने कुरा केवल सुशील शाहीलाई मात्र थाहा छ। कति समय ज्यानलाई हत्केलामा राखेर चलचित्रलाई हिट बनाउनका लागि कठिन भन्दा कठिन कार्य गर्ने सुशील शाहीको मूल्यांकन चलचित्रका निर्माता तथा निर्देशक र फाइट मास्टर कसैवाट भएको भने पाइएन। शायद सतिले सरापेको देश भएर त्यसो भएको होला भनेर चित्त बुझाउने कार्य सुशील शाहीवाट भएको छ।

त्यसैगरेर, चलचित्र मिलनमा नायिका करिश्मा मानन्धरको डुप्लिकेट बनेर फाइट खेल्ने पनि सुशील शाही नै हुन्। करिश्माको साडी लगाएरै फाइट खेल्ने गजबका स्टन्टमेन सुशील शाहीले युवराज लामा निर्मित तथा निर्देशित चलचित्र देवदूतमा नायिका विपना थापाको स्टन्ट गरेका थिए। जुन स्टन्टको व्यापक चर्चा भएको थियो। जसवाट नायिका विपना थापाको व्यापक तारिफ भयो। विपना थापाको नामवाट फाइट गर्ने सुशील शाहीलाई भने कमैले मात्र चिने।

यिनै गजबका स्टन्टमेन सुशील शाहीले चलचित्र इन्साफमा चालिसको दशकका सेक्सी हिरोइन मोनाली सिंहको स्टन्ट पनि गरेका थिए। अर्को चलचित्र गोठालोका भिलेन बिजु रंजितको डुप्लिकेट बन्ने कार्य पनि सुशील शाहीवाट भएको थियो। काठमाडौं भोटेवहालमा जन्मी–हुर्केका साहसी पर्दा पछाडिका यिनै कलाकार सुशील शाही पर्दा पछाडि बसेर नेपालका एक से एक हिरो–हिरोइनलाई चम्काउन पाउंदा गर्बको महशुश गर्छन्।

ती हिरो–हिरोइनलाई चम्काउन पर्दा पछाडि बसेर काम गर्दाको क्षण संझदा हाललाई रमाइलो लाग्ने गरेतापनि जाडो याममा शरीरका हड्डी तथा जोर्नीहरु कर्रकर खाँदा भने हैरान बन्ने गरेका छन्। त्यो पीडाको मूल्यांकन पर्दा पछाडिका कलाकारहरुले नपाउने गरेको तितो यथार्थ रहेको छ। जसको गुनासो गर्ने पक्षमा पनि सुशील शाही छैनन्। चलचित्र रणसंग्राममा १० लाख लगानी गरेर निर्माता बनेर लगानी गर्दा १० पैसा पनि रिटर्न नपाएको अर्को तितो यथार्थता पनि कलाकार शाहीमा रहेको छ।

नेपालका राष्ट्रिय स्तरका टाइकाण्डो खेलाडी समेत रहेका सुशील शाही टाइकाण्डोका ब्लाँक बेल्ट होल्डर पनि हुन्। दार्जिलिङका भानिजको रुपमा निक्कै मान–सम्मान तथा प्रतिष्ठा पाएका सुशील शाहीले त्यहाँ हुने हरेक खेल गतिविधिमा सहभागिता जनाउंदै आएका छन्।

विगत २१ बर्षदेखि काठमाडौंको पुतली सडक स्थित सूर्य बहुउदेश्यीय सहकारी संस्थाको प्रमुख संचालक तथा अध्यक्ष समेत रहेका सुशील शाही सहकारी आन्दोलनका प्रणेता पनि हुन्। सहकारीको माध्यमवाट कयन जीवन स्तर उकास्ने कार्य शाहीवाट भएको छ।

शाही देश बचाउ अभियानका अगुवा पनि हुन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य देखि धेरै नेताहरुलाई देश बनाउन भिजन दिने सुशील शाही हरेक नेतामा भिजन र मिसन हुन आवश्यक भएको राय व्यक्त गर्छन्। पत्नी गीता क्षेत्री शाही र दुई छोरीका साथ अत्यन्त सुखी र खुशी जीवन जिउंदै गरेका शाहीले मरेर लानु केही छैन्–बाँचुञ्जेलीको लागि हो–घमण्ड नगरौ भन्ने महानबाणीलाई आत्मसात गर्दैआएका छन्। त्यसैले पनि आफू संसारको सुखी र खुशी मान्छे हुं भनेर शाहीले भनेका छन्।


प्रकाशन मिति–२०७६ साल असार १० गते मंगलवार ।