काठमाडौं। विश्वविख्यात भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ। केही हप्तायता लता मंगेशकरलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएकोमा उपचारकै क्रममा निधन भएको हो ।

भारतीय समाचार माध्यमका अनुसार, कोभिड संक्रमित भएपछि लतालाई अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान ८ः१२ बजे लता मंगेशकरको दुःखद निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। केही समययता लता मंगेशकरको शरीरका धेरै अङ्गले काम गर्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

लता मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । लताले सन् १९४३ मा आफू १३ वर्षको हुँदा पहिलो गीत रेकर्ड गराएकी थिइन् । लताले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

लताको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतको इन्दौरमा भएको थियो । ९२ वर्षीया लता मंगेशकरले आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी थिइन् । लता मंगेशकर नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

प्रकाशन मिति–२०७८ साल माघ २३ गते आइतवार ।