काठमाडौँ। विश्वप्रसिद्ध तबला वादक जाकिर हुसेनले तबलाको सङ्गीतबाट मंगलवार सयौँलाई मन्त्रमुग्ध बनाएका छन्। काठमाडौंको लैनचौर स्थित भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँको आयोजनामा भएको विशेष समारोहमा हुसेनले डेढ घण्टासम्म तबला बजाएर दुवै हातको जादू चलाएर सबैलाई लठ्ठै पारेको हो।

हुसेनले वर्षाका बेलाको गड्याङगुडुङ र चट्याङ, मृगको चाल जस्ता विषयलाई पनि सङ्गीतमा अनुवाद गरेका थिए भने सामान्य बोलीचालीलाई पनि तबलाबाटै प्रस्तुत गरेका थिए।

हुसेनलाई सारङ्गीबाट सविर खान, ढोलकबाट नवीन शर्मा र मृदङ्गबाट आनन्द कृष्णले साथ दिएका थिए। चारै माध्यमबाट उत्पन्न सङ्गीतले स्रोता झन् उत्तेजित भएका थिए।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल भारत सम्बन्ध बढाउन कलासङ्गीतले महत्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रममा विभिन्न उच्चपदस्थ व्यक्ति–विशेष तथा कलाकारहरुको सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७५ साल मंसीर ११ गते मंगलवार ।